काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले हिजो राती फोहोर बोक्ने साधनहरुमाथि भएको तोडफोड कानुनीरुपमा जघन्य अपराध भएको बताएका छन्।
प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत फोहोर बोक्ने साधनहरुको तोडफोड गर्नेहरुलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने बताएका छन् । फोहोर व्यवस्थापनप्रति महानगर सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल भएको र फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकताको रुपमा लिएको पनि उनले उल्लेख गरे। बर्षौँदेख अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको पनि बताए ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्छन् “फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ । कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ । केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।”





