सुवर्ण थापाद्धारा निर्देशित फिल्म ‘राधा’ चीनमा प्रदर्शन हुने

२४ श्रावण २०७९, मंगलवार १३:३६

नेपालमा रिलिज हुनु भन्दा पहिले सुवर्ण थापाद्धारा निर्देशित फिल्म ‘राधा’ चीनमा प्रदर्शन हुने भएको छ ।

थापाद्धारा निर्देशित फिल्म ‘राधा’ लाई चीनको ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा फिल्मलाई देखाइन लागिएको हो ।
बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ मा चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने कार्यक्रममा ‘राधा’ले प्रदर्शनको मौका पाएको हो । साउन ३० गते फिल्म प्रदर्शनको तयारी भएको महावाणिज्य दूतावासका जनाएको छ ।

नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलको आयोजक समितिले राधालाई छनोट गरेको दूतावासद्वारा प्रेषित पत्रमा उल्लेख छ । दूतावासले फिल्म निर्मातासँग फिल्मको पूर्ण स्क्रिप्ट र सारांश भिडियो पनि मागेको छ ।

कार्यवाहक महावाणिज्यदूत कुञ्जन शाहद्वारा प्रेषित पत्रमा फिल्मले चीनमा नेपाली फिल्मका लागि बजार खोजी गर्ने आशा लिइएको उल्लेख गरेका छन् । सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘राधा’ नेपालमा चाहिं भदौ १० गते प्रदर्शन तयारीमा छ ।

हराएका पतिको खोजीमा निस्किएकी सिंगल मदरको कथा आधारित भएर बनेको उक्त फिल्म देवकी विष्ट र अभिनेता सौगात मल्ल पनि फिल्म निर्माताको रुपमा जोडिए छन् ।