प्रदीप ज्ञवालीले गरे सरकारलाई यस्तो आग्रह

२४ श्रावण २०७९, मंगलवार १०:५१

‘एक चीन नीति’को पक्षमा उभिन सरकारलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आग्रह गरेको छ ।

छिमेकी देशको संवेदनशीलताप्रति खेलबाड गर्न नसकिने आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर एमाले नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । विश्वका शक्तिशाली देशको लहैलहैमा हामी जान नसक्ने पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले बताए । तिब्बत, हङकङ र ताइवान चीनका अभिन्न अंग भएकाले त्यो आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन भन्ने सरकारले पोजिसन तत्काल सार्वजनिक गर्नुपर्ने उनले बताए ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले १८ साउनमै चीनको आपत्तिबीच भएको पेलोसीको ताइवान भ्रमणप्रति वक्तव्यमार्फत् विरोध जनाएका थिए । पेलोसीको ताइवान भ्रमण ‘एक चीन नीति’ विपरीत रहेको नेता खनालले उल्लेख गरेका छन् ।

अमेरिका र चीनबीच मतभेद चर्काउने गरी भएको पेलोसीको भ्रमणबारे सरकारको धारणा भने सार्वजनिक भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ साउनमा परराष्ट्र मामिला सल्लाहकार नेपालको ‘असंलग्न परराष्ट्र नीति’प्रति असहमत अरुणकुमार सुवेदीलाई नियुक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघमा नेपालले युक्रेनको पक्षमा मतदान गरेकाले र पेलोसीको ताइवान भ्रमण भएको दुई दिनभित्रै सुवेदीलाई परराष्ट्र सल्लाहकार नियुक्त गरिर्नु प्रधानमन्त्रीको मौनतालाई शंकाको दृष्टिले हेरिएको छ ।