सांसद भुवनबहादुर सुनार रिसले आगो हुदै यस्तो भने

२४ श्रावण २०७९, मंगलवार ०८:३०

दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले माग गरेका छन् ।

दलित समुदायका व्यक्तिहरुलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखेको पाइएकाले त्यस्ता नाम सच्याउन गृहमन्त्रालयलाई सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले आग्रह गरे ।

दलित समुदायलाई नागरिकता दिने बेलामा कर्मचारीले कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण दिँदै उनले प्रश्न गरे, ‘दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?’

दलित समुदायका व्यक्तिलाई अपमान गर्नकै लागि त्यतिबेलाका सरकारी कर्मचारीले उनीहरुको नाम त्यस्तो राखिदिएको उनको दाबी छ । ‘नागरिकता लिन जाँदा ति हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ?’ उनले प्रश्न गरे ।

सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरे । ‘खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन । दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रुपमा ति बस्तीमा पुग्नुपर्छ । त्यस्ता अपराधीहरुलाई खोजीखोजी कारबाही गर्नुपर्छ । राज्य यो विषयमा गम्भिर हुन आवश्यक छ ।’

सांसद सुनारले राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै दलित समुदायलाई नागरिकता दिने बेलामा कर्मचारीले हेपुवा प्रवृत्तिले अपमानपूर्वक जेपाए त्यही नाम राखिदिएको त्यसकारण त्यस्ता नाम सच्याउन माग गर्दै त्यस्ता नाम राखिदिनेलाई खोजीखोजी कारबाही गर्नुपर्ने बताए ।