निहारिकालाई प्रहरीले लियो नियन्त्रणमा, न्याय पाउलीन त ?

२२ श्रावण २०७९, आईतवार १२:४५

प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजपुतले आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि नियन्त्रणमा लिइएको हो ।आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट प्रहरी वृत्त सिंहदबारको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनले भने, ‘निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि नियन्त्रणमा लिइएको हो ।’

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

उनले आफूलाई ‘कुमारी आमा’का रुपमा चिनाउने गरेकी छन् । ‘विगतमा ५ बुँदे मागसहितको पूरा गर्ने झुठो आश्वासन दिएर अनसन तोड्न लगाउने टिमलाई पनि अझ कति दिन कुनुपर्छ ?’ उनले प्रश्न गरेकी छन्, ‘कुमारी आमाहरु मर्नै पर्ने हो ? कि माग पूरा गर कि हाम्रो बाँच्ने अधिकार छैन भनेर जवाफ देऊ ।’

जनकपुरका शिवराज श्रेष्ठले आफूमाथि बलातकार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको राजपुतले बताएकी छन् । तर, २४ माघ २०७८ मा श्रेष्ठलाई भने जिल्ला अदालत धनुषाले सफाइ दिएको छ । राजपुत त्यसविरुद्ध उच्च अदालत जनकपुर पुगेकी छन् ।