इमान्दार प्रयासले नेपालको विकास निर्माण सम्भव छ: प्रचण्ड

२१ श्रावण २०७९, शनिबार १०:२०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् ।

नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो ।

प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए । सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको दाबी थियो ।

अध्यक्ष प्रचण्डले आफ्नो जोड विकास निर्माणमा नै रहेको र नेतृत्वले इमान्दार प्रयास गर्‍यो भने नेपालमा विकास निर्माण सम्भव भएको बताएका छन्। निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आफ्नो जापान भ्रमण र यहाँका नेपालीहरुसँगको अन्तरक्रिया फलदायी हुनेमा उनी ढुक्क देखिए ।

यस्तै नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको र नेपालका लागि जापान प्रमुख डोनर देश भएको पनि प्रचण्डले बताए । साथै जापानमा रहेका नेपालीहरुको अवस्था कस्तो छ र वभिन्न व्यवसायमा आबद्ध नेपाली, विद्यार्थी र अन्य काम गर्ने नेपालीहरुलाई के सहयोग आवश्यक छ । जापानमा रहेका नेपालीहरुलाई नेपाल र नेपाल सरकारको तर्फबाट के गर्न सकिन्छ भने अध्ययन गर्ने विषय पनि रहेको प्रचण्डले बताए ।