
नेकपा माओवादी केन्द्रका नेताहरुले विभिन्न चार जिल्लाबाट चुनाव लड्न अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई प्रस्ताव गरेका छन् ।
चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न पार्टीका नेताहरुले प्रचण्डलाई प्रस्ताव गरेका हुन् ।
आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेको गोरखा क्षेत्र नम्बर १ का सांसद हरि अधिकारीले बताए । ‘गोर्खाली जनता र पालिका नेतृत्व तहमा भएका साथीहरुको तर्फबाट अध्यक्षलाई गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव गरेको हुँ । उहाँले त्यस विषयमा जवाफ दिनुभएन’ अधिकारीले भने, ‘आफ्नो व्यक्तिगत इच्छा नभइ पार्टी र पालिकाका जनप्रतिनिधिको इच्छा अध्यक्ष कमरेडकहाँ पुर्याएको हुँ । अरु कुनै ठोस निर्णय भएको छैन ।’
त्यस्तै स्थायी समिति सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य राजन दाहालले समेत प्रचण्डलाई सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टी नेतृत्वलाई सिन्धुलीका जनताबाट अनुमोदन गराउने इच्छा प्रचण्डकहाँ राखेको दाहालले बताए । सिन्धुलीबाट चुनाव लड्ने प्रचण्डको इच्छा नभई आफूले नै चुनाव लड्न अफर गरेको उनले बताए । यदि प्रचण्ड सिन्धुली बाटै चुनाव लडेमा गजुरेल र दाहाल दुबै नेता छोड्न तयार भएका छन् ।
यस्तै स्थायी समिति सदस्य मातृका यादवले समेत आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेका छन् । त्यस्तै सिरहाबाट प्रतिनिधित्व गर्ने अजयशंकर नायक, विश्वनाथ साह र महेन्द्र पासवान लगायतका माओवादीहरूले समेत प्रचण्डलाई सिरहाबाट चुनाव लड्न सुझाव दिएका हुन । दोस्रो संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर ५ बाट प्रचण्ड निर्वाचित भएकाले पुनः सिरहाबाटै चुनाव लड्न उनीहरुले सुझाव दिएका हुन् ।
पार्टी अध्यक्ष प्रचण्डले भने भने चितवन क्षेत्र नम्बर तीन बाटै चुनाव लड्ने बताउने गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौँबाट, दोस्रो संविधान सभामा काठमाडौ र सिरहाबाट र २०७४ सालको प्रतिनिधिसभा चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
