अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संकेत गरेका छन् ।
काठमाडौंमा आज (बिहीवार) नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो संकेत गरेका हुन् ।
धेरै सञ्चारकर्मीहरूले समय मागिरहेपनि राजनीतिको बारेमा समय निकाल्न आफूलाई गाह्रो भइरहेको बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे ।
उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्ने दबाब रहेको बताए । उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए ।
अध्यक्ष नेपालले अब तेस्रो शक्ति बनाउन पार्टीहरू एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी उक्त ठाउँमा हुनुपर्ने आवश्यक्ता भएको बताए । उनले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गरे ।
