
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले महँगी, भ्रष्टाचारदेखि संघीयताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीले टाउकामा कालोपट्टी बाँधेर आज (बुधबार) दाङको घोराहीमा आयोजित विरोध कार्यक्रममा विरोध प्रदर्शन गरेका थिए।
घोराहीमा रहेको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन र्याली बजार परिक्रमापश्चात तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। पछिल्लो समय देशमा चरम महँगी भएको र अहिलेको सरकारले त्यसको नियन्त्रण गर्न नसकेको भन्दै आफूहरू टाउकामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा निस्केको राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य सरिता देवकोटाले बताइन्।
त्यस्तै उनले देशमा भ्रष्टाचार बढिरहेको भन्दै सरकारले ध्यान नदिएको पनि आरोप लगाइन्। उनले सरकारले भर्खरै ल्याएको नागरिकता विधेयक तत्काल खारेजी गर्न पनि माग गरिन्।
उनले नागरिकता विधेयक ल्याएर देशलाई सिक्किम जस्तो बनाउने कार्य गरेको भन्दै तत्काल खारेज गर्नुपर्ने माग गरिन्। यस्तै कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतले संघीयताको कारण देशले आर्थिक भार थेग्न नसकेको भन्दै छिटोभन्दा छिटो संघीयता खारेजी गर्न माग गरे।
उनले आम जनताको भावना विपरीत सरकारले एमसीसी पास गरेको भन्दै त्यो तत्काल खारेजी गर्न पनि माग गर्दै संघीयताको नाममा पार्टीका कार्यकर्ताहरूलाई रोजगार दिने थलो बन्दा देशमा आर्थिक संकट उत्पन्न हुने अवस्था आएकाले खारेजी गर्नुपर्ने बताए।
