ओलीले चुनाव हार्ने डरले गर्न लागे पार्टी एकता

१८ श्रावण २०७९, बुधबार १२:३०

नेकपा एमालेले सत्ता बाहिर रहेका कम्युनिष्टहरुलाई पार्टी एकता गर्न आग्रह गरेको छ ।

नेकपा माले लगायतका स–साना पार्टीलाई एकताको प्रस्ताव एमाले शीर्ष नेताहरुले गरेका हुन् । एमालेले पार्टी एकतामा कुरा नमिले आगामी निर्वाचनमा सूर्य चिन्हबाट चुनावमा जाने र त्यहाँ एमाले र अन्य कम्युनिष्ट घटकको सहयोग आदानप्रदान हुने गरी विश्वास दिलाउन खोजिरहेको छ ।

नेकपा मालेका नेता सीपी मैनालीलाई सूर्य चिन्हबाट चुनाव लड्न प्रस्ताव गरिसकेको छ । एमालेका धेरै जसो नेता कार्यकर्ताले मैनालीलाई पार्टीमा ल्याउन आग्रह गरिरहेका बेला आउँदो संघीय निर्वाचनमा मैनालीलाई सूर्य चिन्हबाट चुनावमा जान आग्रह गरेको हो ।

एमालेका एक स्थायी कमिटी सदस्यले भने, उहाँलाई हामीले सूर्य चिन्हबाट चुनाव लड्नुस् भनेका छौँ, तर निर्वाचनको बेलासम्म परिस्थिति के आइपर्छ थाहा भएन’।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ती स्थायी कमिटी सदस्यले भनेझैँ सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिष्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका हुन् । मंगलबार कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभइ पार्टी एकतामै आउन आह्वान गरेका हुन् । सीपी मैनाली पनि सोही मञ्चमा भएका बेला ओलीले सो आग्रह गरेका हुन् ।

‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के ? आउनुस् सँगै मिलेर काम गरौं र यत्रो चुनौती प्रतिक्रियावादीले खडा गरेका छन्’ उनले भने, ‘के हामीले के चुनावी तालमेल गरेर‘ उनीहरुजस्तो चुनावी तालमेल गर्ने हो र ? ’ओलीले सँगै मञ्चमा रहेका सीपी मैनालीलाई सम्बोधन गर्दै आफूहरु एउटै आन्दोलनबाट आएको र अलग बस्नुपर्ने कुनै कारण नभएको बताए ।