रुपन्देहीको तिलोत्तमा बैबाहिक बलात्कारको मुद्दा दर्ता

१८ श्रावण २०७९, बुधबार ११:१२

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बैबाहिक बलात्कार मुद्दा दर्ता भएको छ ।

तिलोत्तमा नगरपालिका– १७ मा लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै एक महिलाले आफ्नै पतिविरुद्ध बैबाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन् ।

गत मंगलबार आफ्नै पतीले बलात्कार गरेको भन्दै तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले किटानी जाहेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नुका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

सो अत्याचारबारे परिवारजन र आफन्तलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै घटनाबारे अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।

इच्छाविपरीत जबर्जस्ती करणी गरे आफ्नै पत्नीलाईसमेत ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।