ओलीको सानदार दोहोरो शतक प्रहार

१८ श्रावण २०७९, बुधबार ०७:५४

इंग्ल्यान्डको घरेलु प्रतियोगिता रोयल लन्डन वानडे कपमा विकेटकिपर ओली रोविन्सनले सानदार दोहोरो शतक प्रहार गरेका छन् ।

२३ वर्षीय ओलीको दोहोरो शतकको सहयोगमा वर्सेस्टरशायरले दिएको ३ सय ५२ रनको विशाल लक्ष्य केन्टले ४४.५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो । ओली रोविन्सनले १ सय ३१ बलमा २७ चौका र ६ छक्कासहित २ सय ६ रनको अविजित दोहोरो शतकीय इनिङ खेले ।

ओपनर बेन क्यामप्टन ७४ बलमा ७ चौकासहित ७५ रनमा आउट भए । त्यसअघि काउन्ट्री ग्राउन्ड न्यू रोडमा टस जितेर पहिला ब्याटिङ थालेको वर्सेस्टरशायरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।

उसको लागि पाकिस्तानका कासिफ अलीले ९९ बलमा १४ चौका र १ छक्कासहित १ सय १४ रनमा आउट भए । बेन कक्स ५९ र इड बर्नार्डले ७९ रन बनाए । केन्टका म्याट हेनरी र म्याट क्विनले तीन तीन विकेट लिए ।

इंग्ल्यान्डको यू–१९ टोलीबाट खेलि सकेका ४५ प्रथम श्रेणीको खेलमा ४ शतक र १० अर्धशतकसहित २ हजार १ सय १ रन बनाएका छन् । १७ लिष्ट ए खेलमा ४ सय ९३ रन बनाएका छन् । एजेन्सी