
नेपाली काँग्रेसले मन्त्री परिवर्तन गर्ने या नगर्ने विषयमा लुम्बिनी प्रदेशमा आज टुङ्गो लगाउने भएको छ ।
मन्त्रीहरू परिवर्तनको विषयमा केन्द्रीय नेताहरूसँगै छलफल गरेर आज नै टुङ्ग्याउने काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए । प्रधानमन्त्री र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यो विषयमा आज फाइनल गर्ने कनैडियालले बताएका हुन्।
उनले भने, मन्त्री परिवर्तन गर्ने या नगर्ने भन्ने कुरा फाइनल गर्नका लागि आज म नेताहरूलाई भेट्दै छु ,जे हुन्छ आज हुन्छ ।’नेपाली काँग्रेसको प्रदेश संसदीय दलको असार १३ गते बसेको बैठकले मन्त्रीहरू परिवर्तन गर्ने विषयमा निर्णय गरेको थियो । तर प्रदेशको निर्णयमा केन्द्रीय नेताहरूको राय माग्दा ढिलाइ भएको हो ।
लुम्बिनीमा सरकार गठनका बेला २०७८ साउनमै सरकारको नेतृत्व आठ आठ महिना गर्ने गठबन्धनमा भद्र सहमति भएको थियो । तर, केन्द्रीय गठबन्धनमै समस्या पर्ने भन्दै केन्द्रबाट सरकारको नेतृत्व परिवर्तन नगर्ने बरु मन्त्री परिवर्तन गरेर समाधान खोज्ने सहमतिपछि मन्त्री परिवर्तनमा गठबन्धनका दुई दल लागेका छन् ।
नेपाली काँग्रेसले मन्त्रीहरू फेर्नासाथ माओवादीले पनि फेर्ने तयारी गरेको छ । तर त्यसो नभएमा अहिलेकै मन्त्रीहरु यथावत् रहने माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । काँग्रेस र माओवादीबीच प्रदेश सरकारको बजेट पारित गरेपछि साउन ५ भित्र लुम्बिनी सरकारका मन्त्री हेरफेर गर्ने आन्तरिक सहमति भएको थियो ।
