
टाउकोमा रगत जमेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरी महिलालाई उद्धार गरिएको छ।
जुम्ला कार्मारोङ गाउँपालिका– ३ पाखाकी २८ वर्षीया मिन्दिक लामाको टाउकोमा रगत जमेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको हो।
चार दिनअघि सुत्केरी हुन अस्पताल आएकी लामाको टाउकोमा रगत जमेको शिक्षण अस्पताल जुम्लाका निर्देशक डाक्टर राजीव शाहका बताएका छन्। उनले भने, ‘यस्तो अवस्थामा तत्काल न्युरोको सर्जरी गर्नुपर्ने हुन्छ। प्रतिष्ठानमा न्युरोसम्बन्धी शल्यक्रिया नहुने भएकाले काठमाडौंमा रिफर गर्नुपरेको हो । बच्चाको अवस्था सामान्य छ।’
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौंस्थित वीर अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनापश्चात् पहिलोपटक जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका बताएका छन्।
