जसपा विभाजनपछि भट्टराई र यादवमा कुन पक्ष बलियो बन्ला ?

१६ श्रावण २०७९, सोमबार १४:५९

जनता समाजवादी पार्टी विभाजनपछि केन्द्रीय सदस्यमा रहेका नेताहरू आफ्नो पक्ष नेताहरुबीच प्रतिस्पर्धा भएको छ ।

पार्टी विभाजनपछि लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा रहेका नेताहरूलाई आफ्नो पक्षमा बनाउने नेताहरुबीच प्रतिस्पर्धा भएको हो । जसपाका लागि मधेसपछि बलियो लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुले डा.बाबुराम भट्टराईको पक्षमा दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपा कमजोर बनेको भट्टराई समूहको दाबी छ ।

जसपाबाट लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना नेता भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएको भट्टराई पक्षले नामावलीसहित घोषणा गरेका छन् ।

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’ ले जानकारी दिए ।

जसपा परित्याग गर्नेहरूमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरू गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी छन् ।

यस्तै उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत विक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थी, अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जीतमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा. मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजनले पनि डा. भट्टराईको पार्टीमा आबद्ध हुने गरी राजीनामा दिएको मुख्यसचिव यज्ञप्रसाद पोखरेलले जानकारी दिए ।

लुम्बिनी प्रदेश विवरण हेर्दा डा.बाबुराम भट्टराईको पक्ष बलियो र उपेन्द्र यादव नेतृत्वको जसपा कमजोर देखिएको छ ।