कार्यालय घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध किन खनियो भिड ?

१६ श्रावण २०७९, सोमबार ०७:०३

बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकले आफूहरुको पैसा खाएको सहकारी पीडितले बताएका छन् ।

संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले धरान नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।
मेयर हर्क साम्पाङलाई समस्या सुनाइएको तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन्।

बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका पीडितहरूले दिउँसो २ बजेसम्म नाराबाजी गरेका थिए। २ बजे मेयर साम्पाङ आएपनि उनले पीडित पक्षलाई नराम्रो वचन लगाएको आरोप पीडितहरूको छ।

मैलेँ बराहमा पैसा राख्न भनेको थिए भन्दै गैरजिम्मेवार जवाफ दिएको भन्दै पीडितले मेयर साम्पाङविरुद्ध नाराबाजी चर्काएका थिए। मेयर साम्पाङ बस्ने कार्यकक्षको सिसाको झ्यालसमेत फुटेको बताइएको छ।

सहकारी पीडितले संघर्ष समिति गठन गरी गत आइतबार नगरप्रमुखको ध्यानाकर्षणसहित विरोध कार्यक्रम गरेका थिए। बराह सञ्चालकले आफूहरुको रकम फिर्ता नगरेको भन्दै पीडित मेयर साम्पाङलाई गुनासो सुनाउन पुगेका थिए।

उनले आफ्नो कार्यालयको सिसा फुटाइएको, आफूमाथि हमला गरेको, धरान नगर सरकारको मानहानी गरेकोसमेत फेसबुकमा उल्लेख गरेका छन्। यसले अराजकता फैलाएको उनको ठहर छ। उनले आफुखुसी सहकारीमा नियमविपरीत पैसा राखेकोसमेत आरोप लगाएका छन्। आफ्ना कर्मचारीलाई थर्काउने र कार्यालय तोडफोड गर्नेहरूलाई उनले चेतावनीसमेत दिएका छन्। आफुखुसी सहकारीमा नियमविपरीत पैसा राख्ने अनि नगर सरकारलाई हेपेर जथाभावी गालीगलौज गर्ने ? अधिकृतस्तरका कर्मचारीहरुलाई दिनदिनै थर्काउने र कार्यालय तोडफोड गर्नेहरु, पख! दुईचार जनाको उक्साहटमा आफ्नो कार्यालय तोडफोड भएको उनको भनाइ छ।

पीडितहरु नाराबाजी र तथा गालीगलौजमा उत्रिएकोले समस्या जटिल बनेको तर पीडितलाई न्याय पाउने गरी नै काम अघि बढाइरहेको धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले बताएका छन्।