
एम्बुलेन्सको ठक्करबाट झापामा स्कुटर चालकको मृत्यु भएको छ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार झापा गाउँपालिका ६ निवासी २३ वर्षीय राजेश कार्कीको मृत्यु हो ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएका कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको डिएसपी पाठकले बताए। प्रहरीका अनुसार साउन ४ गते दिउँसो २ बजे कनकाई नगरपालिका – ३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ गई रहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी स्कुटर चालक कार्की र सोही स्कुटरको पछाडि उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए। घाइतेमध्ये चालक कार्कीलाई बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारका लागि पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो। यता एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड –१० निवासी ४६ वर्षीय चन्द्र बहादुर बिकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ।
यस्तै,प्यूठानको स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा जिप दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा शनिबार दुर्घटना भएको हो। लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको थिया भने १५ जना घाइते भएका छन् ।
