जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त गरी आजै शपथ ग्रहण गराउने तयारी

१५ श्रावण २०७९, आईतवार १२:१०

निर्वतमान अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई नै अर्थमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका हुन् ।

शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरी आजै शपथ ग्रहण गराउने तयारी भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।