सौर्या सिमेन्टका मजदुर आन्दोलित

६ श्रावण २०७९, शुक्रबार १२:२८

सिरहाको मिर्चैयास्थितको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरू आन्दोलित भएका छन् । सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरूले तलब, सुरक्षालगायतका १२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि उद्याेग र मजदुरबीच भएको सहमतिअनुसार तलब, सुरक्षा र सम्पूर्ण सुविधा नदिएपछि मजदुरहरू आन्दोलन गर्न  बाध्य भएको मजदुर मोहित महराले बताएका छन् । उनका अनुसार ´मजदुरहरू गत मंसिरमा १२ बुँदे माग राख्दै आन्दोलन गरेपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरबीच सहमति भएको थियो ।´तर उद्याेगले  सहमतिविपरीत कर्मचारी हटाउने, सेवा सुविधा नदिने लगायतका क्रियाकलाप देखाउन थालेपछि मजदुरहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

माग पूरा गर्न उद्योगको आन्तरिक मेमो

मजदुरको आन्दोलनपछि उद्योगको प्रशासन शाखाले गत ६ मंसिरमा ९ बुँदे आन्तरीक मेमो जारी गरेको थियो । जसमा श्रमिकको न्यूतम पारिश्रमिक, ८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी गरिने, ८ घण्टा काम गर्दा आधा घण्टा र १२ घण्टाबढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने, कामदारको कामको प्रकृति हेरी औषधि उपचार, दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा, शाैचालय र विश्राम स्थल निर्माण, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको निम्ति एम्बुलेन्स, उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षारोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर, उद्योगका जेनरल म्यानेजर जीवन नेपालले मजदुरहरूसँग कुनै पनि समझौता नरहेको जिकिर गरे ।

यसअघि मजदुरले १२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि प्रशासन प्रमुख नेपालले उद्योगको आन्तरिक विषय भएकोले छलफल गरी टुंगोमा पुग्नुपर्ने बताएका थिए । उद्योगले आन्तरिक मेमो पनि जारी गरिसकेको अवस्थामा आधारभूत माग पूरा हुन नसक्नुले आफूहरु असुरक्षित भएको आन्दोलनरत पक्षको भनाइ छ ।

मजदुरहरूको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ । उक्त उद्योगमा १५० जना नेपाली र २५० जना भारतीय  कामदार कार्यरत छन् ।

Avatar

Avatar

Avatar

Avatar