पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा आफूले कुनै अनाधिकृत व्यक्ति नल्याएको दावी गरेका छन् ।
बिहीबार विहान शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई बयान दिने क्रममा शर्माले यस्तो दावी गरेका हुन् ।
उनले आफूमाथि लागेको आरोपको खण्डन गरे ।
’अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन’, शर्माले भने ।
गत जेठ १४ गते शर्माले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराई करको दर हेरफेर गरेको खुलेको थियो । जसमा समाचार लेख्ने दुई पत्रकारहरुलाई समितिले वुधबार नै बयान लिइसकेको थियो ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि सभामुख अग्नि सापकोटाले संसदीय छानविन विशेष समिति गठन गरेका थिए । त्यसलगत्तै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
