अन्योलताकाबीच मौद्रिक नीतिको ‘ड्राफ्ट’ तयार

४ श्रावण २०७९, बुधबार १३:१९

मौद्रिक नीतिको ड्राफ्ट तयार भएको छ । राष्ट्र बैंकका अधिकारीहरु मस्यौदा तयार पारेका छन ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि मौद्रिक नीति मस्यौदा तयार भएको अब छपाइको काम थालिदैछ । अब सञ्चालक समितिमा रहेकाहरुको अनुकल समय मिलाएर बैठक बस्ने र सञ्चालक समितिले पास गरेको खण्डमा शुक्रबार सार्वजनिक गर्ने तयारी छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरे पनि सञ्चालक समितिले पास गरेपछि मिति निर्धारण हुनेछ । राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति कस्तो होला भनेर सर्बत्र चासो भइरहेको छ । मौद्रिक नीति मूल्यवृद्धि नियन्त्रणमा केन्द्रित हुनेगरी बनाइएको छ भने सामान्यतया मौद्रिक नीतिले मुद्रा आपूर्ति, ऋण र व्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक वृद्धि र रोजगारी सृजनालाई सहयोग पु¥याउने उद्देश्यका साथ मौद्रिक नीतिको खाका कोरिएको छ ।

उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, मूल्य र ज्याला स्थिरता, बाह्य क्षेत्रमा स्थायित्व कायम राख्ने, आर्थिक स्थायित्व कायम गर्ने जस्ता पूर्वनिर्धारित समष्टिगत आर्थिक लक्ष्यहरू हासिल गर्ने गरी मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतले बतायो ।

अघिल्लो मौद्रिक नीतिबाट सबैभन्दा बढी सेयर लगानीकर्ता असन्तुष्ट बनेका थिए । यसपटकको मौद्रिक नीति यस्ता विषयमा भन्दा पनि उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिने गरी आउने बताइएको छ । त्यसो त, नेपाल राष्ट्र बैंकले वस्तु आयातमा पूर्ण बन्देज त लगाउन पाउँदैन तर वस्तु आयात कर्जा प्रवाह रोक्ने मौद्रिक नीति भने आउनसक्ने संकेत गभर्नर अधिकारीले दिएका छन ।

यता सत्तारुढ दलका नेताहरु आफैँ भने मौद्रिक नीति कसिलो हुन नहुने बताउँदै आएका छन । तर राष्ट्र बैंकले अहिलेको महंगी नियन्त्रणको लागि पनि ब्याजदर बढाउनुपर्ने संकेत गरेको छ ।