चरम महँगी, नियन्त्रणमा सरकार असफल

२८ असार २०७९, मंगलवार ११:०३

महगी चरम उत्कर्षमा पुगेको छ भने नियन्त्रणमा सरकार असफल बनेको छ ।

घिउ तथा तेलको मूल्य अत्याधिक बढ्दा उपभोक्ता सबैभन्दा बढी मारमा परेका छन ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिलाई आधार मान्दा उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । जबकी गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो । घिउ तथा तेलको मूल्य २२.६० प्रतिशतले वृद्धि हुँदा समग्रमा महँगी बढेको हो ।

दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११.२२ प्रतिशतले बढेको छ । यसैगरी सुर्तीजन्य पदार्थको ९.७ प्रतिशत, मदिराजन्य पेय पदार्थ ९.६८ प्रतिशत र दाल तथा गेडागुडीको मूल्यवृद्धि ९.१३ प्रतिशत छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातमा २५.७९ प्रतिशत मुद्रास्फीति बढेको छ । यसैगरी शिक्षा, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः ११.६४, ८.३०, ८.२१ र ७.८४ प्रतिशत छ ।

अहिले नै यस्तो गतिमा महँगी चुलिएको छ । तर, सरकार भने आगामी वर्षमा मुलुकको मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने बताउँछ । चालू आवकै ११ महिनामा सो सीमा नाघिसकेको छ । अर्को आवमा सो सीमाभित्र राख्न चुनौती भएको पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको तर्क छ ।

‘महँगी अचाक्ली बढेको छ । यसै वर्षको अन्त्यसम्ममा मूल्यवृद्धि दोहोरो अंकमा बढ्न सक्ने छ । यही गतिमा महँगी बढिरहँदा आगामी आवमा झन चुलिने छ,’ उनले भने । उपभोग्य वस्तुको मूल्य अत्याधिक बढेकाले मूल्यवृद्धिमा चाप पर्न गएकोे अर्थविद् डा. डिल्लिराज खनाल बताउँछन । ‘यसले आम सर्वसाधारणलाई बाँच्न मुस्किल हुँदै छ,’ उनले भने ।

यस्तै, राष्ट्र बैंकको तथ्यांक हेर्दा देशको अर्थतन्त्र अझै कमजोर हुँदै गएको देखिएको छ । देशको विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घटेको छ । चालू आवको ११ महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २ खर्ब २२ अर्ब १९ करोड रुपैयाँले घटेको हो ।

गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । जुन २०७९ जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष २ खर्ब २२ अर्ब विदेशी मुद्रा सञ्चिती घटेको देखिन्छ ।