ज्ञानेन्द्र शाहले पढेको वक्तव्य मैले ड्राफ्ट गरेको हुँ: ओली

२४ असार २०७९, शुक्रबार १७:५४

२०६३ सालको वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।

दलहरुले तयार गरेको पत्रकै आधारमा तत्कालीन समयमा राजा ज्ञानेन्द्रले सम्बोधन गरेको उनले बताए । सम्बोधनको ड्राफ्ट एमालेको केन्द्रीय कार्यालयमा आफूले तयार गरेको उनले दाबी गरे । ‘एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ ।’ त्यही ड्राफ्ट नै ज्ञानेन्द्रले पढेको उनले दाबी गरे ।

आफूले ड्राफ्ट गरेको सम्बोधनको पत्र पढेपछि संसद् पुनःस्थापना भएको उनले सुनाए । त्यसै ड्राफ्टको आधारमा जनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको उनले बताए ।

यस्तै अध्यक्ष ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गरेका छन् ।