बाबुराम भट्टराई एमालेसँग मिल्ने तयारीमा

२० असार २०७९, सोमबार १०:५७

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।

जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.भट्टराईले जसपाबाट छुटिनु भन्दा पहिले विभिन्न शीर्ष नेताहरुसंग राजनीतिक भेटवार्तालाई तिव्रता दिएका हुन् ।उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग पनि धेरै चोटि भेटवार्ता गरिसकेका छन् ।

अध्यक्ष प्रचण्डसँगको भेटलाई पनि कतिपयले दाहाल र भट्टराईबीच पूनः सहकार्यको सम्भावनाबारेमा चर्चा गर्न थालेका छन् । उनीहरु उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्तामा बसेको चर्चा चलेको छ । प्रचण्डसँगको भेटवार्ताकै दौरानमा भट्टराईले आगामी निर्वाचनमा एमालेसहितको नयाँ मोर्चा बनाउने गरि पनि छलफल अघि बढाएको पाईएको छ ।

उनले एमाले, आफूहरु र महन्थ ठाकुर नेतृत्वको लोसपाको छुट्टै गठबन्धन बनाउनेबारे प्रस्ताव गरेको बुझिएको छ । एमालेसँगको सहकार्यको लागि लोसपा पनि सकारात्मक रहेको छ । एमालेले पनि चुनावी सहकार्यको लागि सकारात्मक सन्देश दिएको बुझिएको छ । लोसपाका अध्यक्ष ठाकुरले एमाले, लोसपा र बाबुराम पक्ष मिलेर चुनावमा जाँदा राम्रो नतिजा आउने भन्दै यसबारेमा छलफलको माध्यमबाट एउटा निश्कर्षमा पुग्न सकिने बताएका छन् ।

यस्तै, आइतबार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । उक्त पाँच सचिवालय सदस्य भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।