नेकपाका पाँच सचिवालय सदस्यबीच को भेटवार्तामा के के भए छलफल ?

२० असार २०७९, सोमबार ०७:५१

आइतबार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ ।

उक्त पाँच सचिवालय सदस्य भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

उनीहरुबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
तत्कालीन नेकपामा ९ सदस्यीय सचिवालय समितिमा थियो । जसमा यी पाँच नेताबाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि थिए ।

यस्तै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दबाब बढाएका छन् ।