कर्जा र निक्षेपको अनुपातमा सुधार

१४ असार २०७९, मंगलवार १०:२७

चालू आर्थिक वर्ष सकिनै लाग्दा सीडी रेसियो अर्थात् कर्जा र निक्षेपको अनुपातमा सुधार आएको छ।

सबै बैंकहरुको समग्र सीडी रेसियो ९० प्रतिशतभन्दा कम देखिएको हो।

बैंकहरुले चालू आर्थिक वर्षको अन्त्यमा ९० प्रतिशत सीडी रेसियो कम गर्नुपर्ने बाध्यता छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले ९० प्रतिशत निक्षेप र कर्जाको अनुपात हुनुपर्ने व्यवस्था गरेको छ।

जुन व्यवस्थाको कारणले बैंक तथा वित्तीय कमपनीमा चाप परेको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले आफ्नो पहिलो त्रैमासिक समीक्षामार्फत असार मसान्तसम्मलाई छुट दिएको थियो।

तर त्यसको लागि बैंक सञ्चालक समितिले निर्णय गरेर सो जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने उल्लेख थियो।

यस सुविधाको प्रयोग सबै वाणिज्य बैंकहरुले गरेका थिए। प्राइम कमर्सियल लगायतका बैंकहरुले ९९ प्रतिशतसम्म सीडी रेसियो कायम गरेका थिए। तर अहिले भने सुधार भएको देखिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार समग्र बैंकहरुको औसत सीडी रेसियो ८९ दशमलव २६ प्रतिशत छ।

यसरी सुधार हुनुमा बैंकहरुमा पछिल्लो समय निक्षेप बढिरहनु प्रमुख कारण रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

राष्ट्र बैंकका अनुसार गत शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा ४९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा आइतबार एकै दिन ५ अर्ब थपिएको हो।

आइतबारसम्ममा ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको देखिएको हो। आइतबार कर्जा प्रवाह भने शनिबारसम्म ४७ खर्ब ६ अर्ब रहकोमा आइतबारसम्ममा ४७ खर्ब ५ अर्ब कायम भएको छ।

वाणिज्य बैंकहरुको अहिलेसम्मको निक्षेप ४४ खर्ब १ अर्ब रहेकोमा कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको देखिएको हो।