नेकपा एकीकृत समाजवादीका नेता तथा नव नियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरी मन्त्रालयमा पदस्थापन गरेका छन् । नव नियुक्त शहरी विकास मन्त्री चौधरी आज मन्त्रालयमा पदस्थापन गरेका हुन् । मन्त्रालयका कर्मचारीले मन्त्री चौधरीलाई फूलमालाले स्वागत गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । त्यसै गरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भएका छन् ।
यस्तै, पत्रकार सम्मेलन गरेर श्रम मन्त्री किसान श्रेष्ठ पनि मन्त्रालयबाट बिदा भएका छन् । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र पर्यटन मन्त्री प्रेम आले आइतबार नै पत्रकार सम्मेलन गरेर बिदा भएका थिए ।
