नेपालीमा साइकल ‘मोह’ बढ्दै, पौने २ अर्बको साइकल आयात

१३ असार २०७९, सोमबार १०:४०

चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा पौने २ अर्बको साइकल आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा १ अर्ब ८७ करोड ३३ लाख २३ हजार रुपैयाँ बराबरको साइकल नेपाल भित्रिएको हो ।

उक्त अवधिमा विश्वका विभिन्न २२ वटा देशहरुबाट ३ लाख ८५ हजार ३१० थान साइकल आयात भएको विभागले जनाएको छ । साइकल आयातबाट सरकारले ३५ करोड २ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।Civil Bank

नेपालमा छिमेकी दुई मुलुक भारत, चीन, इन्डोनेशिया, ताइवान, हङकङ, श्रीलंका, कतार, कम्बोडिया, यूएई, अमेरिका, जर्मनी, मलेशिया, बेलायत, म्यानमार, बह्रराइन, कुवेत, जापान, ओमन, इज्रायल, सिंगापुर लगायतको देशहरुबाट साइकल आयात हुने गरेको छ ।

नेपालका शहरी क्षेत्रमा पछिल्लो समयमा साइकल प्रयोग गर्ने प्रचलन निकै बढ्न थालेको छ । काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिरका ठूला सहरमा पनि साइकलको प्रयोग निकै बढ्न थालेको हो । पछिल्लो समयमा मानिसले साइकललाई बाध्यता भन्दा पनि शोखका रुपमा प्रयोग गर्न थालेका छन् । शहरी क्षेत्रका मानिसहरु शनिबार तथा सार्वजनिक बिदाको दिन साइकल यात्रामा निस्कने प्रचलन पनि उत्तिकै बढेको छ ।

चालु आवको जेठ मसान्तसम्ममा सबैभन्दा बढी साइकल भारतबाट आयात भएको छ । उक्त अवधिमा भारतबाट १ अर्ब १५ करोड ९२ लाख ५१ हजार रुपैयाँ बराबरको साइकल आयात भएको हो । उक्त देशबाट २ लाख ७० हजार २०५ थान साइकल नेपाल भित्रीएको छ ।

नेपालमा साइकल बढी आयात हुने देशमध्ये दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट भने ६८ करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ३६८ थान आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार मोटर जडान नगिरएको मात्रै १ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरको साइकल नेपाल भित्रिएको हो ।

उक्त अवधिमा इन्डोनेसियाबाट ८५ लाख ३२ हजार रुपैयाँ बराबरको, हङकङबाट २५ लाख ८५ हजार, श्रीलंकाबाट २२ लाख ३९ हजार, कतारबाट १७ लाख १४ हजार, कम्बोडियाबाट १० लाख १४ हजार रुपैयाँ बराबरको साइकल नेपाल भित्रिएको हो ।

यस्तै, यूएईबाट २ लाख ८० हजार, जर्मनीबाट २ लाख ४९ हजार, इटलीबाट १ लाख ९८ हजार, अमेरिकाबाट ५४ हजार, बेलायतबाट ४६ हजार, मलेशियबाट ४२ हजार, जापानबाट ४१ हजार, कुवेताट २९ हजार, बह्रराइनबाट २३ हजार, तानजानियाबाट २२, म्यानपारबाट २१, इज्रायलबाट १२, साउदी अरेबियाबाट ११ हजार रुपैयाँ बराबरको साइकल आयात भएको हो ।

त्यसैगरि चालु आवको जेठ मसान्तसम्ममा सिंगापुरबाट ९ हजार, ओमनबाट ५ हजार र उल्लखे नभएको देशबाट ५ हजार रुपैयाँ बराबरको साइकल आयात भएको विभागले जनाएको छ ।