अर्थमन्त्रीलाई ‘बाइकट’ गरेर मौद्रिक नीति ल्याउँदै गभर्नर

१२ असार २०७९, आईतवार १०:२६

अर्थमन्त्रीलाई ‘बाइकट’ गरेर मौद्रिक नीति ल्याउने तयारीमा गभर्नर लागेका छन । गभर्नर–अर्थमन्त्रीबीच सम्बन्ध चिसिएकै कारण यस्तो परिस्थितिको सिर्जना भएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको सट्टा प्रधानमन्त्रीसँग समन्वय गरेर मौद्रिक नीति ल्याउर्दैछन ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग हालै भएको भेटमा गभर्नर अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाले समन्वयात्मक भूमिका खेलिदिनुपर्ने बताएका छन ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सरकारसँग समन्वय आवश्यक भएको गभर्नरको भनाइ छ । यस्तो समन्वयको काम प्रधानमन्त्रीले गरिदिनुपर्ने गभर्नर अधिकारीले महामन्त्री थापासँगको भेटमा आग्रह गरेका हुन् ।

भेटमा गभर्नर अधिकारीले विभिन्न मन्त्रालय र निकायबाट बनेका नीतिबीच समन्वयात्मक काम नहुँदा अपेक्षित परिणाम नआउने भन्दै यसमा अलि बढी नै प्रधानमन्त्रीको अग्रसरता चाहिने बताएका थिए ।

भेटमा महामन्त्री थापाले गभर्नरलाई भने, ‘सांसद एवं पार्टीको पदाधिकारीका नाताले हामी पनि जिम्मेवारीमा छौँ, हामी पुलको काम गर्न सक्छौँ।’

कांग्रेस महामन्त्री थापाले गभर्नरसँग मौद्रिक नीति बनाउँदा साना व्यवसायीहरुको हितलाई समेत ख्याल गर्न सुझाव दिए । देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको त्रास फैलिँदा अर्थतन्त्र फस्टाउन नसकेको र मानिसहरुमा निराशा उत्पन्न भएको थापाले गभर्नरलाई बताए । उनले पछिल्लो समय पुँजिबजारको घट्दो अवस्थाले निजी क्षेत्रको विश्वास घटिरहेको गभर्नरलाई सुनाए।

थापाले गभर्नरसँग भने, ‘अहिलेको पुँजी बजारका बारेमा सोच्नुपर्ने अवस्था छ । पुँजी बजार वा निजी क्षेत्र सबैले आत्म विशवास गुमाएको अवस्था छ। लगानीमा विश्वास गुमेको छ। अब आउने मौद्रिक नीतिले यसलाई सम्बोधन गर्नुपर्छ।’

अहिले मूल्यवृद्धिका कारण अर्थतन्त्र चौपट हुन लागेको भन्दै यस्तो अवस्थामा मौद्रिक नीति ल्याउँदै गर्दा यो पक्ष ध्यान दिइएन भने अर्थतन्त्र झनै शिथिल हुने भन्दै थापाले तल्लो वर्गका जनताको हितलाई ख्याल गरेर मौद्रिक नीति बनाउन गभर्नर अधिकारीलाई सुझाव दिएको स्रोतले बतायो ।