योगेश भट्टराईले माधव नेपाललाई उ बेला पार्टी विभाजन नगर्न के तर्क दिएका थिए ?

१० असार २०७९, शुक्रबार १४:३०

नेकपा एमालेका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत माधव नेपाल र झलनाथ खनालले खेलाडीलाई बिस्तारै चिन्दै जाने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका १० सांसदहरुले पछिल्लो समय नेतृत्वले लिएका विभिन्न निर्णयहरु सही नभएको भन्दै विद्रोह गरेपछि एमालेका नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत माधव नेपाल र झलनाथ खनालले खेलाडीलाई बिस्तारै चिन्दै जाने बताएका हुन् ।

एमालेका नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षडयन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहि भन्दा पनि वहाँले नमाने पछि कुनै दिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भईरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्मबोध र पश्चताप सिर्फ कहिले ?’

अध्यक्ष माधव कुमार नेपाललाई पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै ध्यानाकर्षण नै गराएका छन् । ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेटमाथि छलफल चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने १० सांसदहरुले बताएका छन्।