एमाले कैलालीका अध्यक्ष थापालाई एमाले बाट हटाईदै, अब थापा कुन पार्टीमा प्रवेश गर्लान ?

१० असार २०७९, शुक्रबार १२:३६

नेकपा एमाले कैलालीका अध्यक्षलाई कारवाही गर्न प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

बिहीबार बसेको जिल्ला सचिवालय बैठकले एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न प्रदेश कमिटीमा सिफारिस गरिएको हो ।

अध्यक्ष थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न बिहीबार बसेको जिल्ला सचिवालय बैठकले प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने पाण्डे बताएका छन् ।

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए ।

तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणको उनले जवाफ समेत नफर्काएपछि साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ । एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए ।

यस्तै, नेकपा एमालेले आगामी संघ र प्रदेशको चुनाव एक्लै जित्ने गरी तयारी गर्नुपर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आन्तरिक रुपमा पार्टी एकताबद्ध हुँदा एक्लै बहुमत ल्याइने बिहीबार (हिजो) साँझ आफ्नै निवास बालकोटमा पुगेका एमालेका राष्ट्रियसभा सदस्यहरुसँग अध्यक्ष ओलीले बताएका हुन् ।