
मूल्यवृद्धि, किसानलाई मल र विद्यार्थीलाई पुस्तक अभावजस्ता विषय उठाएर जनवर्गीय संगठनलाई प्रमुख विपक्षी दल नेकपा एमालेले आन्दोलनमा उतार्ने भएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । च्यासलमा बसेको उक्त बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी थिए । बैठकले आपसी सहकार्यमा मुद्दाअनुसार एकल वा संयुक्त आन्दोलन गर्नसक्ने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद् केही घण्टामा फेरबदल हुने नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले दाबी गरेका छन् । नेकपा (एस) का उपमहासचिव खतिवडाले बताए अनुसार एसको तर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र ती ठाउँमा नयाँ मन्त्री पठाइने पार्टीको निर्णय भएको छ ।
