मन्त्री भन्ने चिज चीरस्थायी होइन: जगन्नाथ खतिवडा

९ असार २०७९, बिहीबार १५:३७

मन्त्रिपरिषद् केही घण्टामा फेरबदल हुने नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले दाबी गरेका छन् ।

नेकपा (एस) का उपमहासचिव खतिवडाले बताए अनुसार एसको तर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र ती ठाउँमा नयाँ मन्त्री पठाइने पार्टीको निर्णय भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने मन्त्री फेरबदल गर्ने निर्णय गरेकोले अब तत्काल कार्यान्वयन हुने बताएका छन् ।

प्रवक्ता खतिवडाले भने, ‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ । दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ, कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्, पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो ।’

पार्टीका नेताहरूलाई ६ महिनाका लागि मन्त्री पदमा पठाइएको हो । ६ महिनाका लागि भनिए पनि ९ महिना बितिसकेको छ । यसर्थ अब उहाँहरुलाई छिट्टै पार्टीले फिर्ता बोलाउँछ, उनले भने ।

‘मन्त्री भन्ने चिज चीरस्थायी होइन । स्थायी सरकार भए पाँच वर्ष हो,’ उनले भने, ‘९ महिना भयो उहाँहरू मन्त्री भएको । बिदा गर्नुपर्ने स्थिति आयो । कसैले विद्रोह गर्छु भनेको छैन ।’

यस्तै, पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन निर्देशन दिएका थिए।