नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोर्खा भूतपूर्व सैनिक संगठन (गेसो)का पदाधिकारीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसँग आज बिहान बालुवाटारमा गेसोका अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले भेट गरेको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न दिएको निर्देशनलाई पर्यटन मन्त्री प्रेम आले र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति जनाएका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मन्त्री आले र झाँक्रीले असहमति प्रकट गरेका हुन् ।
