नेप्से ३१ अंकले गिरावट, कारोबार रकम ८४ करोडमा झर्‍यो

८ असार २०७९, बुधबार १५:३८

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पत्रकार सम्मेलन गरी लगानीकर्ताको मागमा सकारात्मक रहेको भन्दै आश्वासन दिलाउन खोजे पनि लगानीकर्ता आश्वस्त हुनसकेको देखिएन ।

उनी एक साता लामो विदेश भ्रमणबाट फर्किएपछि सोमबार साँझ अर्थमन्त्री जनार्दन शर्मालाई भेट्न पुगेका थिए । त्यसपछि लगानीकर्ताको आन्दोलनमा पुगेका हमाल मंगलबार बिहानदेखि गभर्नर र अर्थ मन्त्रालयमा भेटघाटका लागि दौडधुपमा थिए । मंगलबारै पत्रकार सम्मेलन गरे ।

हमालको दौडधुपबाट केही सकारात्मक समाचारको अपेक्षाले गर्दा मंगलबार सेयर बजारमा ३९ अंकको वृद्धि भएको थियो । तर, पत्रकार सम्मेलनमा अध्यक्ष हमालले पुरानै कुरा दोहोर्‍याउँदै नेपाल राष्ट्र बैंकका कारण बजार प्रभावित भएको टिप्पणी गरे । जिम्मेवारीबाट पन्छिने प्रयास गरे । त्यसले सेयर लगानीकर्तालाई पुनः निराश बनाउँदा बुधबार सेयर बजार घट्ने क्रमले निरन्तरता पायो ।

बुधबार बजार परिसूचक नेप्से ३१.२१ अंकले गिरावट भएर १८९३.५३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर, विकास बैंक, वित्त कम्पनी र अन्य उपसूचकमा साढे २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेर ८४ करोड ३८ लाख रुपैयाँमा झरेको छ । त्यसमध्ये नबिल बैंकको सर्वाधिक तीन करोड ४० लाखको कारोबार हुँदा नेपाल बैंकको दुई करोड ६८ लाख र नेपाल लाइफको दुई करोड ६४ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकामा १७३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । १९ कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबारमा आएका मध्ये आँधीखोला लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा शिवश्री हाइड्रोपावरको सेयरमूल्य ३.८९ प्रतिशतले बढेको छ ।

युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ६.४८ प्रतिशतले गिरावट हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.६२ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ५.५६ प्रतिशतले गिरावट भएको छ ।