इन्स्युरेन्स अभियान्ता कोषराज सुवेदीले प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र रुपमा उठ्ने घोषणा गरेका छन् ।
काठमाण्डौँ निर्वाचन क्षेत्र नम्बर २ मा बुधबार गौशालामा एक कार्यक्रम गरेर स्वतन्त्र उठ्ने घोषणा गरेका हुन् । ‘सोँचसंगै संवृद्धि’ भन्ने मूल नारा लिएर जनतामाझ हिँडिसकेको उनले बताए ।
लामो समय आफू बिभिन्न ब्यापार तथा वित्तिय क्षेत्रमा आवद्ध भएको हुँदा मुलुक परिवर्तनका एजेण्डा प्रशस्तै भएको उनले सुनाए । प्रतिनिधि सभामा इन्स्युरेन्स अभियानकर्मीका समस्या पनि लैजानु पर्ने भएकाले यो कदम चालिएको उनले बताए । शीर्ष पार्टीका नेतामा मुलुक विकासको सोँच हराइसकेको बताउँदै एक सबल सोँचले मात्र सवृद्धि हासिल हुने उनले बताए ।
सुवेदीले प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र रुपमा उठ्ने घोषणा गरेको क्षेत्र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्र हो। स्थानीय तहको निर्वाचनमा काठमाण्डौँको मेयरमा बालेन शाह, धरानको मेयरमा हर्क साम्पाङले जितेपछि प्रतिनिधी सभा र प्रदेशको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेको संख्या बढ्दो क्रममा छ ।
