मन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पारेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले आफू मन्त्रीबाट बाहिरिने भएपछि नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पारेका हुन् ।
नेकपा एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको अवस्थामा मन्त्री आलेले एमाले फर्किनको लागि आन्तरिक रूपमा कसरत बढाएका छन्। गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा तत्कालीन एमालेको माधव नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका आले पुनः एमालेमा फर्किन लागेका हुन्।
भदौ ३ गतेको पार्टी विभाजनमा एकीकृत समाजवादीतर्फ लागेका उनले एमाले फर्कन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाएका छन्।
मन्त्रीबाट फिर्ता गराउने तयारी गरेपछि अध्यक्ष नेपालसँग असन्तुष्ट बनेका आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई ओलीसँग भेट्न पठाएका छन्।
एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीसहितका नेताहरू ओली निवास बालकोटमा छलफलका लागि गएको स्रोतले बताएको छ। आले आफैँले पनि ओलीको विश्वास पात्र समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि निरन्तर छलफल गरेका छन्।
यस्तै आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।आजको बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
