गाउँपालिका अध्यक्षका छोराले गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्ने गाउँपालिकाको गाडी तोडफोड गरेका हुन् ।
गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै उनले तोडफोड गरेका हुन् । मंगलवार बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो ।
नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद हुँदा बैठक लम्बिएको थियो । बैठकको अन्त्यमा अध्यक्षले एमालेका केही वडाध्यक्षलाई केही समितिमा राख्ने सहमति दिएका थिए ।
एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका ज्योतिले बाबुसँग असहमति राखेर तोडफोड गरेको जनप्रतिनिधिहरू बताउँछन् । अध्यक्षले सबैलाई समेटेर जान भनेर केही समितिको संयोजक एमालेलाई दिने सहमति जनाएपछि सो विषयमा असहमति जनाउँदै ज्योतिले गाडी तोडफोड गरेको एक जनप्रतिनिधिले बताए ।
अध्यक्ष गच्छदारले पनि छोराले नै गाडीको सिसा फुटाएको स्वीकार गरेका छन् । उनले जोसुकैले गाडी फुटाए पनि कारबाही गर्ने बताएका छन् ।‘गाउँपालिकाका सबै मेरा लागि छोराछोरी जस्तै हुन्, मैले सबैलाई समान व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘अहिले उपाध्यक्ष वडाध्यक्षहरूसँग छलफल गरेर के कारबाही गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्छौँ ।’
यस्तै नेपाली काँग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ । काँग्रेसले कार्यपालिकाले गरेको निर्णयलाई लिएर एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको हो।
गाउँपालिकाका उपाध्यक्ष गुणावति देवीथारुले भने गाडी किन तोडफोड भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताइन् । उनले आज बस्ने कार्यपालिका बैठकमा गाडी तोडफोडका विषयमा छलफल हुने समेत उनले बताइन् । उनी एमालेबाट निर्वाचित हुन् ।
