११ महिनाको अवधिमै करिब १६ खर्ब व्यापारघाटा

८ असार २०७९, बुधबार ०७:४८

नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमै करिब १६ खर्ब व्यापारघाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्षको जेठसम्ममा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख ७८ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको हो ।

नेपालले गत वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । जुन गत वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले बढी व्यापारघाटा व्यहोरेको छ ।

११ महिनाको अवधिमा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । यो वर्ष २७.५ प्रतिशतले आयात बढेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यस्तै, नेपालले ११ महिनाको अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जुन हालसम्मकै उच्च हो । नेपालले गत वर्षको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष ५३.३ प्रतिशतले निर्यात बढेको छ ।

नेपालले १७ खर्बकाे आयात गर्दा सरकारले ४ खर्ब ४६ अर्ब ७९ कराेड ३६ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ