वायुसेवा सञ्चालकहरूकाे आन्दोलन स्थगित, नियमित उडान हुने

८ असार २०७९, बुधबार ०७:४१

सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेका वायुसेवा सञ्चालकहरूले बुधबार बिहान ११ बजेबाट नियमित उडान गर्ने भएका छन्।

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भर्खरै सकिएको वार्तामा उक्त सहमति भएको हो।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार मध्यरात भएको वार्ताले उडान नरोक्ने निष्कर्ष निकालेको छ। ‘वार्ता जारी रहन्छ तर अहिलेलाई हवाई सेवा बन्द नगर्ने भएका छौं,’ संघका प्रवक्ता योगराज कँडेलले वार्तापछि  भने ।

नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राति पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गत आइतबार गरेको थियो। त्यसैको विरोधमा वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारबाट सम्पूर्ण उडान स्थगनको घोषणा गरेको थियो।

यात्रुहरूप्रति जवाफदेही र जिम्मेवार हुनुपर्ने वायुसेवा कम्पनीहरूले सरकारमाथि दबाब सिर्जना गर्न अत्यावश्यक सेवा ऐन प्रतिकूल हुने गरी हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि उनीहरूको जिम्मेवारीमाथि प्रश्न उठेको थियो। हवाई सेवा बन्द गर्दा सिधा असर यात्रुहरूलाई पर्छ। पहिल्यै टिकट काटेर बसेका वा यात्राको योजना बनाइरहेका यात्रु प्रभावित हुन्छन्। अपर्झट काम परेर हवाई मार्गबाट यात्रा गर्न खोजेकाहरूलाई एक्कासि घोषणा गरिएको बन्दले सबभन्दा मर्कामा पार्नेछ।

पछिल्लो समय पहिरोले राजमार्गहरू ठाउँठाउँमा बिग्रिएका छन्। बस यात्रामा लामो समय लाग्छ। यही कष्टबाट बच्न धेरैले हवाई मार्ग प्रयोग गरिरहेका छन्। वायुसेवा सञ्चालक संघले उपभोक्ताको यही अप्ठ्यारोलाई आफ्नो हितमा प्रयोग गर्न खोजेका छन्।

कुनै पनि कारणले अत्यावश्यक सेवा बन्द गर्नु कानुनविपरीत हो। त्यसमाथि सेवा बन्द गर्नुपर्ने अवस्था आए सरकार मात्र होइन, उपभोक्तालाई पनि अग्रिम सूचना दिनुपर्छ, ताकि उनीहरू वैकल्पिक व्यवस्थाको निम्ति तयार होऊन्।

वायुसेवा सञ्चालकहरूले भने पूर्वसूचना नदिई आजको भोलि सेवा रोक्ने घोषणा गरेका थिए।

प्राधिकरणले हेलिकप्टर कम्पनीलाई असार ७ (आज) र हवाईजहाज कम्पनीलाई १३ गतेबाट तोकिएको विमानस्थलमा मात्र राति पार्किङ गर्न निर्देशन दिएको थियो। त्रिभुवन विमानस्थलको ‘उडान सुरक्षा सुदृढीकरण’ को कारण देखाउँदै यस्तो निर्णय गरिएको हो।

कुन कम्पनीका कतिवटा जहाज कुन विमानस्थलमा पार्किङ गर्ने भनी तोकेर सोमबार पत्र पठाइएको थियो। हेलिकप्टरका हकमा मंगलबार रातिबाट मात्रै काठमाडौंबाहिर पार्किङ गर्नुपर्ने थियो। तर मंगलबार बिहानको उद्धार उडानसमेत रोकिएपछि वायुसेवा सञ्चालकहरू रूष्ट भएका हुन्।

सामान्यतया एयरलाइन्सले कम्पनी खोल्दा नै अपरेटिङ आधार विमानस्थल तोक्नुपर्छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इज्जाजत दिन्छ। त्यसपछि प्राधिकरणले सम्बन्धित विमानस्थलमा पार्किङको क्षमता, पूर्वाधार र सुरक्षा अवस्था हेरेर एयर अपरेटिङ सर्टिफिकेट (एओसी) जारी गर्छ।

प्राधिकरणले एओसीमा तोकेभन्दा बाहिर गएर आधार विमानस्थल निर्धारण गरेको कँडेल बताउँछन्।

उनका अनुसार एओसीमा बुद्ध एयरका १० वटा जहाजलाई काठमाडौं विमानस्थलमै राति पार्किङ गर्ने अनुमति छ। अहिले ५ वटा जहाज मात्र काठमाडौंमा पार्किङ गर्नू भनेको छ।

‘प्राधिकरणले हचुवा भरमा आधार विमानस्थल तोक्ने हो भने एओसीको के अर्थ?’ उनले प्रश्न गरे।

उनले अगाडि भने, ‘कुनै पनि वायुसेवा कम्पनीले प्राधिकरणले तोकेको विमानस्थलमा जान्न भनेको थिएन। तर पूर्वजानकारी नदिई आजको भोलि गरेको निर्णयप्रति हाम्रो आपत्ति हो।’

हवाई क्षेत्रको विकास निम्ति जुनसुकै विमानस्थल जान कम्पनीहरू तयार रहेको उनले बताए। यसका लागि छलफल गरेर चरणबद्ध तरिकाले जानुपर्ने र कम्तिमा ६ महिना समय दिनुपर्ने उनको भनाइ छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भने यो निर्णय आजको भोलि नभएको दाबी गर्छन्।

उनका अनुसार वायुसेवा कम्पनीहरूको आधार विमानस्थल काठमाडौंबाहिर स्थानान्तरण गर्न २०७८ फागुन ३० गते नै कार्यदल गठन भएको थियो। पर्यटन सचिवसहित प्राधिकरणका महाप्रबन्धक र सातवटा वायुसेवा कम्पनीका प्रतिनिधि कार्यदलमा थिए।

कार्यदलले त्रिभुवन विमानस्थलको क्षमताअनुसार कतिवटा जहाज पार्किङ गर्न सकिने, काठमाडौंबाहिर कुन कुन विमानस्थलमा अपरेटिङ बेस राख्न अनुमति दिने लगायत विषयमा छानबिन गरी प्रतिवेदन दिएको थियो।

त्यसकै आधारमा गत आइतबार प्राधिकरणले विभिन्न एयरलाइन्सहरूका लागि आधार विमानस्थल तोकेको उनी बताउँछन्।

‘पटकपटक भएका छलफलमा वायुसेवा कम्पनीका प्रतिनिधिहरू आउनुभएकै थियो। सबै कुरा उहाँहरूलाई थाहा थियो। त्यसैले आजको भोलि निर्देशन दिएको भन्न मिल्दैन,’ निरौलाले भने।

संघले भने यो निर्देशन खारेज गरी अहिलेकै अवस्थामा सेवा सञ्चालन गर्न पाउनुपर्ने लगायत पाँचबुँदे माग राखेको छ।

यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिनुपर्ने, त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङ्गर लगायत भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने संघको माग छ।

युरोपियन एभियसन सेफ्टी एजेन्सीले नेपाललाई हवाई सुरक्षाको सूचीमा राखिएकोमा त्यसबाट हटाउन सरकारले पहल गर्नुपर्ने पनि संघले माग गरेको छ।

प्राधिकरण आफ्नो निर्णयमा टसमस छैन।

ऐनमा भएको व्यवस्थाअनुसार नियम लागू गरिएकाले खारेज नहुने प्रवक्ता निरौला बताउँछन्।

‘छलफलका लागि बोलाउँदा उपस्थित नहुने अनि अचानक अत्यावश्यक सेवा बन्द गर्ने?’ उनले भने, ‘वायुसेवा कम्पनीहरू यात्रु र आफूले दिनुपर्ने सेवाप्रति जिम्मेवार हुने कि नहुने?’

प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने छ।

प्रभु हेलिकप्टरका ६ वटै जहाज पोखरा विमानस्थलमा रात्रिकालीन पार्किङका लागि पुग्नुपर्ने छ भने श्री एयरलाइन्सका ८ वटा हेलिकप्टरमध्ये ३ वटा बाहिर बास बस्नुपर्नेछ।

सिम्रिक एयरका पाँचवटै हेलिकप्टर पार्किङका लागि नेपालगन्ज विमानस्थल पुग्नुपर्नेछ।

त्यस्तै एयर डाइनेस्टीका दुईवटा, फिस्टेलका दुईवटा हेलिकप्टरले काठमाडौंबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्नुपर्ने छ। अल्टिच्युड, हेली एभरेस्ट, मनाङ, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार तोकिएको छ।

यसैगरी हाल ९ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन् भने ३५ वटा जहाज काठमाडौंबाहिर पुग्नुपर्ने प्रवक्ता सिटौला बताउँछन्।

‘जम्मा सञ्चालनमा रहेका जहाजमध्ये एकतिहाइ काठमाडौं विमानस्थलमा र दुईतिहाइलाई बाहिरका लागि बेस तोकिएको छ,’ उनले भने।

बुद्ध एयरका सञ्चालनमा रहेका १६ जहाजमध्ये छ वटा, यतीका पाँचमध्ये तीन, श्री एयरका आठमध्ये छवटा बाहिर जानुपर्नेछ। सौर्यका तीनमध्ये दुई, समिटका चारमध्ये तीन, ताराका तीनमध्ये दुईवटा जहाज बाहिर रात्रिकालीन पार्किङका लागि पुग्नुपर्नेछ।