नेपाल-भूटानबीचको चौथो व्यापार वार्तामा केके भयाे ?

७ असार २०७९, मंगलवार १०:४६

नेपाल-भूटानबीचको चौथो व्यापार वार्ता (सहसचिवस्तर) भर्चुअल माध्यमबाट भएको छ । उक्त वार्तामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी र भूटानी प्रतिनिधिमण्डलको नेतृत्व आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सोनाम तेन्जिनले गरेका छन् ।

बैठकमा नेपाल-भूटानबीचको व्यापार सम्झौता एवं आपसी सहयोगका विविध विषयमा छलफल भएको थियो । छलफलमा दुई देशबीचको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको बताउँदै व्यापार सम्झौता मार्फत द्विपक्षीय सम्बन्ध र सहकार्यको आयामलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त भएको छ ।

उक्त बैठकमा नेपाल-भूटानबीचको तेस्रो व्यापार वार्ताको पुनरावलोकन गरिनुका साथै प्रस्तावित व्यापार सम्झौताअन्तर्गत उत्पत्तिको प्रमाणपत्रको मस्यौदामाथि छलफल भएको नेपालस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दुवै देशले आदानप्रदान गरेको सहुलियतपूर्ण वस्तुहरुको सूचीको सम्बन्धमा समेत छलफल भएको छ । बैठकमा प्रस्तावित उत्पत्तिको नियमसँग सम्बन्धित मस्यौदामाथि नेपालको राय/सुझावको विषयमा आगामी बैठकमा थप छलफल गर्ने सहमति भएको छ ।

व्यापार सम्झौताको अनुसूचीमा रहने दुवै देशका सहुलियतपूर्ण वस्तुहरुको सूचीका विषयमा आन्तरिक छलफल गर्ने र उक्त सूचीलाई हार्मोनाइज्ड कोड २०२२ को संस्करणमा परिमार्जन गर्ने सहमति भएको छ ।

नेपाल-भूटानबीचको उक्त व्यापार वार्तामा उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाली राजदूतावास, नयाँदिल्ली, भारत तथा भन्सार विभागका साथै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पदाधिकारीहरुको समेत सहभागिता थियो ।