अर्थमन्त्री जनार्दन शर्मामा नैतिकता कता हरायो ?

७ असार २०७९, मंगलवार १०:४०

जनयुद्धका कमाण्डर जनार्दन शर्मा अहिले अर्थमन्त्री छन । एकपछि अर्को काण्डमा मुछिदै गएका अर्थमन्त्री शर्मामा नैतिकता भन्ने शब्द हराएको छ ।

मध्यरातमा असम्बन्धित व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गर्न लगाएको आरोप लागेका अर्थमन्त्री शर्मा राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुको साटो प्रतिवादमा उत्रेका छन् । त्यो रातको सीसीटीभी फुटेज सार्वजनिक गर्न भन्दै संसद्मा प्रमुख प्रतिपक्ष दल एमाले लगातार माग गरिरहेको छ । तर अर्थमन्त्रीले त्यसलाई समेत अटेर गरेका छन् ।

आइतबार एक अन्तर्रावार्तामा बोल्दै उनले भने, ‘सीसीटीभी फुटेज हेर्न पाउनुपर्‍यो भनेर माग गर्ने एमाले को हो ? सरकारलाई आवश्यक लागे हेर्ला नि त !’ संसद्मा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फूटेज सार्वजनिक गर्नुपर्ने र मन्त्रीमाथि छानबिन गर्नुपर्ने माग उठाएका थिए । त्यसो त अर्थमन्त्री शर्माले त्यसरात आफू निवासमा रहेको र मन्त्रालयमा के भयो भन्ने विषयमा आफू जानकार नभएको भन्दै आंशिक रुपमा स्वीकार गरिसकेका छन् । तर माओवादी केन्द्रकै कोटाबाट सभामुख भएका अग्नि सापकोटाले अर्थमन्त्रीमाथि उठेका प्रश्नलाई छानबिनको दायरामा ल्याउन कुनै पहल गरेका छैनन् ।

अर्थमन्त्री शर्माले त्यस अन्तर्वार्तामा भनेका छन्, ’कोही व्यक्ति आएर करको दर हेरफेर गर्ने मौका हुँदैन । यस्तो हल्लाको कुरा गरेर हुँदैन ।’ उनले कुन घराना समूहलाई स्वार्थपूर्ति हुने गरि करका दर फेरिएको विषय पूष्टी गर्ने चेतावनी दिएका छन् ।
बजेट आएको अघिल्लो रात जेठ १४ मा पूर्वनायब सुब्बालाई प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिर आएपछि अर्थमन्त्री शर्मा विवादमा छन् ।

यस्तै, अर्थमन्त्रीको दोस्रो काण्ड स्वास्थ्य बीमा नीजि कम्पनीलाई दिन चलखेल गरेको प्रकरण पनि सार्वजनिक भइसकेको छ । २०७२ सालमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनको जिम्मा बजेटमार्फत वर्षपछि अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत निजी कम्पनीलाई दिने घोषणा गरे । यसका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेटमा पनि छुट्ट्याए ।

यसले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु असन्तुष्ट छन र यसमा पनि निजी कम्पनीहरुको स्वार्थमा अर्थमन्त्री चलेको उनीहरुको बुझाइ छ । संसद्मा यसबारेमा पनि प्रश्न उठाइएको थियो, यति हुँदाहुँदै पनि अर्थमन्त्री शर्मा राजीनामा दिएर अनुसन्धानमा सघाउन चाहेको देखिन्न ।
यता, अर्थमन्त्री शर्माको ठाडो निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ठूलो संख्यामा सेयर ब्रोकर थप्ने तयारी भइरहेको छ । यसमा पनि अर्थमन्त्रीको चलखेलको गन्ध देखिन्छ ।

दोस्रो बजारको कारोबारलाई पूर्ण स्वचालित (अनलाइन) बनाएर ब्रोकरको संख्या घटाउने उद्देश्यविपरीत नेप्सेले एकै पटक ठूलो संख्यामा ब्रोकर थप्ने तयारी गरेको स्रोत बताउछ  । अनलाइनमार्फत मात्रै सेयर कारोबार हुने भएपछि संख्या घटाएर ब्रोकरको संस्थागत क्षमता, पुँजीगत आधार, सुशासन लगायत पक्ष अभिवृद्धि गर्नुको साटो सेयर ब्रोकर थप्ने नेप्सेको तयारीलाई सर्वत्र चासो र आशंकाका रूपमा हेरिएको छ । एकपछि अर्को चलखेलमा मन्त्री शर्मा लाग्दा उनको छवी पानीमा बिलाउँदै गएको देखिन्छ ।