प्रतिनिधिसभाको निर्वाचनमा कलाकार बन्जाडेले नेता रायमाझीको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने

६ असार २०७९, सोमबार १२:०६

प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीका कलाकारले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।

विगत ३ वर्षदेखि काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा लागेका अर्घाखाँचीका दुर्गा बन्जाडेले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन्। कलाकार बन्जाडेले विभिन्न टेलिसिरियल भद्रगोल, गोलमाल र ख्याल ठट्टा टेलिसिरियलहरूमा अभिनय गर्दै आएका छन्।

कलाकार बन्जाडेले गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन्। कलाकार बन्जाडेले एउटा मात्र क्षेत्र रहेको अर्घाखाँचीबाट आफू चुनाव लड्न लागेको बताएका छन्। चुनावी मैदानमा नेताहरू जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिने लागेको बन्जाडेले बताए।

कलाकार बन्जाडेले स्वतन्त्र उम्मेदवारी दिने क्षेत्रबाट २०७४ मा अर्घाखाँचीको तत्कालीन माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले जितेका हुन्। माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेको र त्यो पार्टी विभाजनसँगै उनी एमालेतर्फ लागेपछि रायमाझीलाई माओवादीले कारबाही गर्दा यो क्षेत्रमा उपनिर्वाचन पनि भएन र हाल रिक्त नै रहेको छ।

०७४ मा रायमाझीले माओवादी केन्द्रबाट निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी बनेका थिए। रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गरेका थिए भने विसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए।

हाल रायमाझी नेकपा एमालेका नेता हुन्। उनले यस क्षेत्रमा आफूलाई पराजित गराउने तागत कसैको नभएको दाबी गर्दै आएका छन्। सम्भवत नेकपा एमालेले उनलाई यसै क्षेत्रबाट टिकट दिनेछ।

यता, कलाकार बन्जाडेले पनि आफ्नो गाउँ ठाउँ, जिल्लाको विकास र मुहार फेर्नका लागि आफूले उम्मेदवारी घोषणाको तयारी गरेको बताएका छन्। यस क्षेत्रबाट आफूले जनताको मन जितेर काम गर्ने बताउँदै आफूलाई कुनै शक्तिले रोक्न नसक्नेसमेत उनले दाबी गरे।

यस्तै रुपन्देहीको तिलोत्तमामा करको दायरा घटाउन नगर प्रमुख रामकृष्ण खाँणको प्रस्तावलाई कार्यपालिका बैठकमा असहयोग भएको छ ।
कार्यपालिकामा नगर प्रमुखले पेस गरेको करको दायरा घटाउने प्रस्तावलाई अस्वीकार गरेको नाम नबताउने सर्तमा नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले जानकारी दिएका छन् ।