माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच ब्रेकफास्ट मिटिङ भएको छ ।
प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति नन्द बहादुर पुनको निवास लैनचोर ब्रेकफास्ट मिटिङ गर्ने क्रममा जनता समाजवादी पार्टी हाइज्याक का विषयमा छलफल भएको हो । उपराष्ट्रपति पुनको निवासमा प्रचण्ड र भट्टराईबीच जसपा विभाजन हुन लागेको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
जसपा फुटाएर एमालेसंग गठबन्धन गर्न लागेको हो भनेर प्रचण्डले प्रश्न गरेका थिए भने भट्टराईले प्रचण्डको प्रश्नको जवाफ दिदै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै कांगे्रससहितको गठबन्धनमा बस्ने बताएका छन् ।
हामी बहुमत जुटाएर जसपा दाबी गर्न लागेको हो, सरकारलाई दिएको समर्थन कायमैं राख्छौं, भट्टराईले प्रचण्डलाई भनेका थिए ।
जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगले आफूखुशी गर्दै आएको भट्टराईले प्रचण्डसमक्ष गुनासो व्यक्त गरेका थिए ।
तपाईंले पनि जहिल्यै उपेन्द्रलाई नै बोक्नुहुन्छ, प्रधानमन्त्री देउवाले पनि उपेन्द्रलाई नै साथ दिने गर्नुभएको छ, प्रचण्डलाई बाबुरामले भनेको कुरा उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । त्यसपछि प्रचण्डले पार्टी फुट्ने अवस्था नै आएको हो भने झगडा गरेर भन्दा पनि मिलेर विभाजन गर्न सुझाव दिएको स्रोतले जनाएको छ ।
पार्टीमा तपाईंको बहुमत छँदैछ, जसपा तपाईंले दाबी गर्नुस्, उता उपेन्द्रजीलाई पनि छुट्टै पार्टी विभाजन गरेर जान दिनका लागि राजनीतिक दलसम्बन्धी ऐनको प्रतिस्थापन विधेयक संसदमा ल्याउन प्रधानमन्त्री देउवालाई म पनि गठबन्धनको बैठकमा आग्रह गर्छु, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
शनिवार भएको सहमति अनुसार आइतवार बसेको गठबन्धन बैठकमा प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रतिस्थापन विधेयक ल्याएर जसपा विभाजनको बाटो खोलिदिन आग्रहसमेत गरिसकेको बताइएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नहुँदा सांसदहरुबीच चर्काचर्की भएको छ। एमाले नेता भीम रावलले प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएपछि खेद प्रस्ताव पारित गर्न माग गरेका हुन्।
