नेपाली काँग्रेस, एमाले र एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा मेयर बालेन शाहले समेट्ने तयारी गरेका छन् ।
आज दिउँसो काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्वतन्त्रबाट विजयी भएका मेयर बालेनले सबै पार्टीका अवधारणाहरुलाई महानगरको विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् ।
महानगरपालिकाको स्रोतले जनाए अनुसार आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ ।
महानगरको सबैभन्दा धेरै वडामा काँग्रेसको नेतृत्व छ । त्यस्तै एमाले र नेकपा एकीकृत समाजवादीको पनि वडामा नेतृत्व रहेकाले उनीहरुको धोषणा पत्रलाई पनि प्रमुख शाहले नीति तथा कार्यक्रममा समावेश गर्न लागेका हुन् ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ । यसघि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाइएको थियो ।
स्वतन्त्र उम्मेदवारबाट काठमाडौ महानगरपालिकाको मेयरमा विजय भएका बालेन शाहले कांग्रेसबाट गठबन्धनको साझा उम्मेदवार बनेकी सिर्जना सिहं र एमालेका उम्मेदवार केशब स्थापितलाई पराजित गरेका थिए ।
