याक एन्ड यती होटेलको पाँचतारे स्तर किन भयो रद्द ?

५ असार २०७९, आईतवार १०:३१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले याक एन्ड यती होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गरिदिएको छ।

पर्यटन विभागका अनुसार याक एन्ड यती होटलको स्तर वर्गीकरण प्रमाणपत्रसमेत रद्द गरिएकाे छ ।  विभागका निर्देशक मोहनबहादुर जीसीले पटकपटक सूचना जारी गर्दासमेत होटलले इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको बताए । विभागका अनुसार होटलले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ सरकारलाई तिर्न बाँकी छ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेकोमा नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुरलगायतको रकम कानुनबमोजिम होटलले दाखिला नगरेका कारण क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने र होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको र होटल तथा क्यासिनो सञ्चालन नगर्न नगराउन हुनसमेत सूचित गरिन्छ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।