स्थानीय तह निर्वाचनमा पार्टीभित्रै अन्तरघात भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
विपक्षीहरुले केही गर्न नसक्ने भएपनि पार्टीभित्रैबाट ‘शकुनीहरु’ निस्किएका पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले टिप्पणी गरेका हुन्।
मिर्जाफर र मिर्क आसिमको कारण अंग्रेजले बंगाल कब्जामा लिएको उदाहरण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘विरोधीहरुले मात्रै पनि हराउन सक्ने थिएनन्। हामीलाई हराउन हाम्रा विरोधीले सक्दैनन्। तर हामी भित्रबाट शकुनीहरु निस्किए, मिर्जाफर र मिर्क आशिमहरु निस्किय,’ उनले भने।
एमालेको नेतृत्वमा मुलुकले प्राप्त गरेको सफलता, स्थायीत्व र स्थिरता भत्काएर अस्थिरताको दुश्चक्र सुरु गर्ने गम्भीर षड्यन्त्र भएको उनको आरोप छ। ‘हाम्रो पार्टी नै कब्जा गर्ने, सिध्याउने र प्रतिकृयावादी वर्ग र शक्तिहरुको हितमा लगाउने प्रयासहरु भए,’ उनले भने, ‘पार्टीभित्रैबाट संकट पैदा गरियो। बाह्य शक्ति र पार्टीभित्रका शक्तिहरु मिलेर नेपालको वामपन्थी आन्दोलनको, लोकतान्त्रिक आन्दोलनको, देशभक्तिपूर्ण आन्दोलनको अग्रणी संस्था नेकपा एमालेलाई कमजोर पार्ने कोसिस गरियो।’
पार्टी अध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने दुष्प्रयासहरु भएको बताउँदै उनले एमालेको अस्तित्व मेटाउन खोजेका ठाउँहरुमा समेत पार्टी पहिलो बनेको उनको दाबी छ।
ओलीले लोकतान्त्रिक अभ्यासका नाममा तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध चुनाव लडिएको बताए । पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गर्दा पनि एमालेका राम्रो उम्मेदवारले जितेको समेत ओलीले बताए ।
