अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने उनको भनाइ छ ।
एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बताए । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भने, ‘एसपीपीप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलले माग गरे ।
फरक प्रसंगमा महासचिव पोखरेलले हालै सम्पन्न स्थानीय चुनावमा अघिल्लो चुनावको भन्दा ८९ सिट गुमाएपनि जनमत बढाएर पहिलो पार्टी नै बनेको दावी गरे ।
कांग्रेस पहिलो दल भयो भन्ने सत्य होइन, कांग्रेसले जितेको सिट संख्या अरु दलको अंशियारीमा प्राप्त मतका कारण हो’, पोखरेलले भने, ‘एमाले एक्लै एकातिर, ५ दलीय गठबन्धन अर्कोतिर हुँदा गठबन्धन पहिलो र एमाले दोस्रो भन्न सकिन्छ ।’ स्थानीय चुनावको परिणामले संघीय र प्रदेश चुनावलाई असर नपर्ने उनले दावी गरे ।
यस्तै लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले मंगलबार दाङका एकराज बस्नेतकी पत्नी र छोरीलाई गरेको हातपातबारे बोल्दै पोखरेलले कानुन हातमा लिने अधिकार कसैलाई नभएको बताए । सरकारले यसबारे यथोचित जवाफ दिनुपर्ने उनले बताए ।
पार्टी स्थायी समिति सदस्य घनश्याम भूसालमाथिको कारबाहीको विषय पार्टीको अनुशासन आयोगले केन्द्रीय कमिटीलाई प्रतिवेदन दिएपछि थाहा हुने महासचिव पोखरेलले बताए । ‘अनुसासन आयोग स्वायत्त निकाय हो, उसले आवश्यक निर्णय गर्छ’, उनले भने, ‘संस्थागत निर्णय प्रक्रिया भन्दा बाहिर जाँदा जो कोहीलाई समस्या हुन्छ ।’
माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभई दक्षिणपन्थी भएको जिकिर गर्दै पोखरेलले उनीहरु वामपन्थमा आए मात्रै गठबन्धन र तालमेलबारे सोच्न सकिने बताए । आउने संघीय र प्रदेशको चुनावमा एमाले एक्लै लड्ने पनि उनको दावी छ ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
