सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै

१ असार २०७९, बुधबार ०९:३९

आज असार १ गते सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन्।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।

सोही अनिवार्य प्रावधान अनुसार आज सबै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन्।

आज सार्वजनिक गर्न लागेको प्रदेश १ सरकारको बजेट झन्डै ३८ अर्ब रुपैयाँ बराबरको छ भने मधेस प्रदेश सरकारले झन्डै ३४ अर्बको बजेट ल्याउने तयारी गरेको छ । सबैभन्दा बढी बागमती प्रदेश सरकारले झण्डै ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले ३० अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। लुम्बिनी प्रदेश सरकारले ४१ अर्ब भन्दा बढीको बजेट ल्याउँदै छ।

कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।