राजस्व अनुसन्धान विभागले करछली गर्न खोज्ने विरुद्ध पौने २२ अर्बको विगो माग गर्दै अदालतमा मुद्दा चलाएको छ ।
विभागले सोमबार सार्वजनिक गरेको आठमहीने (गत असोज १८ गतेदेखि जेठ मसान्तसम्म) को प्रगति विवरणअनुसार झण्डै ३०० प्रतिवादीहरुबाट उक्त रकम बराबरको बिगो दाबी माग गर्दै मुद्धा दायर गरेको हो ।
विभागका अनुसार कुल २८१ प्रतिवादी विरुद्ध राजश्व चुहावट तथा विदेशी मुद्राको अपचलनमा मुद्धा दर्ता गरिएको छ भने अदालतमा दर्ता गरिएका मुद्धाहरुमा राजस्व चुहावटतर्फ २ सय ३ प्रतिवादीविरुद्ध दर्ता गरिएको ६९ ओटा मुद्धामा १० अर्ब ३० करोड ६५ लाख ४३ हजार रुपैंया बराबरको बिगो तथा सोही रकम बराबरको जरिवाना गरी कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार रुपैंया बिगो माग गरिएको ।
जसमा ७ जना राष्ट्रसेवक कर्मचारीले समेत अनियमितता गरेको भन्दै मुद्धा दर्ता गरिएको विभागले जनाएको छ । विदेशी मुद्राको अपचलनतर्फ ७८ प्रतिवादीका विरुद्ध ४६ ओटा मुद्धा मार्फत विभागले १ अर्ब १० करोड २१ लाख ४७ हजार रुपैंया बिगो दाबी गरेको छ । भिसिटीएसमा ६ सय ६८ फर्म तथा सवारी साधन कार्वाहीमा पर्दा ३ करोड ४३ लाख २६ हजार रुपैंया राजस्व संकलन गरेको विभागले ७१३ ओटा नियमित, आकस्मिक तथा द्रुत गस्ती परिचालन गरेको थियो ।
यो अवधीमा बहुराष्ट्रिय कम्पनीहरुको पूँजीगत लाभकर छलीका साथै क्रिप्टोकरेन्सी, नक्कली अन्तशुल्क स्टीकर लगायत क्षेत्रमा धेरै अनुसन्धान भएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताएका छन ।
कोरोनाका कारण उत्पन्न असहज परिस्थितीमा पनि विभागले प्रभावकारी रुपमा अनुसन्धान तथा कार्वाही गरेको विभागले सरकारी वकिलको कार्यालय पठाइएका तर अदालत पुग्न बाँकी मुद्धाको संख्या २६ रहेको पौडेलको भनाइ छ ।
आठ महीनको अवधीमा राजस्व चुहावट तथा नियन्त्रण ऐन, २०५२ (पहिलो संसोधन) को पछिल्लो संसोधनले विभागको कार्य प्रकृती अभियोजनमुलक अनुसन्धानमा बढी केन्द्रित भएको विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो केही महिनामा आयातमा भएको कडाइका कारणले वस्तुको चोरी पैठारी बढन सक्ने (चिनी लत्ता कपडा, मदिरा, विद्युतिय सामान) र नियमित भन्सार विन्दु प्रयोग नगरी एकै पटक गोदाम स्थलमा श्रोत नखुलेका वस्तुको भण्डारण र कारोबार गरेको सूचनाका आधारमा त्यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई थुनामा नै राखी अनुसन्धानलाई तिव्रता दिइएको विभागको दावी छ ।
८ महीना अघि विभागको नेतृत्व सम्हाल पुगेका पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
राजस्व अनुसन्धान विभागको नेतृत्वमा झलकराम अधिकारी नियुक्त भएका छन् । सहकारी विभागमा रहेका अधिकारीलाई राजस्व अनुसन्धान विभाग सरुवा गरिएको हो । उनीसँग ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेको अनुभव छ ।
